काठमाडौं। नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने भएको छ । यसअघि ईश्वरी न्यौपाने उक्त समितिको सभापति थिईन् । उनी सो समितिबाट राजीनामा दिएर राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनिसकेकी छन् ।
रिक्त रहेको संसदीय सुनुवाइ समिति आफूलाई अघि सार्ने जानकारी पाएको खतिवडाले बताए । पार्टीले निर्णय गरेर पठाएको खण्डमा आफू सो समितिको सभापति भएर काम गर्न तयार रहेको उनले बताए ।
‘मैले पनि सुनेको हुँ । आधिकारीक रुपमा जानकारी आएको छैन । पार्टीले निर्णय गरेर दिएको जिम्मेवारीमा रहेर काम गर्न तयार छु । म दलको सांसद हुँ,’– उनले भने ।
खतिवडा यसअघि राज्यव्यवस्था तथा सुशासन समितिको सभापति थिए । निजामती सेवा विधेयकको कुलिङ पिरियडका सन्दर्भमा भएको छेडखानीमा खतिवडालाई छानबिन समिति नैतिक रुपमा जिम्मेवार ठहर्याएपछि उनले पदबाट राजीनामा दिएका थिए ।