रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिस्कार

काठमाडौं ।भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बुधबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बुधबार संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिएका थिए।

सांसद ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरुले ९५ दिनदेखि आवाज उठाउदा पनि सदनले नसुनेको र उल्टै आफुहरुमाथि झुटा आरोप लगाउने गरेको बताए। उनले अहिले अख्तियारलाई समेत दलीयकरण गरेको भन्दै ८४ पछि यस्तो अवस्था नरहने जिकिर गरे।

उनले भने, ‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौं। हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौं। हामी संविधानका ति पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावनाहरु अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ, यो लोकतन्त्रलाई सुदृढ लोकतन्त्र बनाउन हाम्रो दल दृढ छ।’

साथै, उनले भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दै नसुनि ९५ दिन प्रतिवादमा खर्च गरिरहेको बताए।

उनले विरोधका आवाजहरुलाई दमन गरेर सदनभित्र सिर्जनात्मक बहस गर्ने आफूहरुमाथि सदनमा नसकेर बाहिर डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको बताए।

‘हामी विगत ९५ दिनदेखी आन्दोलनरत छौं। भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दैन। सत्ता पक्षका माननिय ज्यूहरुले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टै समय प्रतिवादमा खर्च गरिरहनु भएको छ। अराजक शैलीसँग मिथ्या आरोपहरु हामी माथि लगाइराख्नु भएको छ। यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि यो सदनभित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको छ। म यो शैली, चरित्रको निन्दा गर्न चाहन्छु। विरोधका आवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्न सक्दैन।’

त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई समय दिए। सांसद शाहीले भिजिट भिसा प्रकरणका आफुहरुले निरन्तर आवाज उठाउँदा पनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाए। उनले जुम्लाको स्याउलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्न माग गरे।

उनले भने, ‘जुम्लादेखि आउने बाटो चार दिनदेखि बन्द छ। सडक डिभिजन कार्यालय जुम्लाको एउटा डोजरले कोदोमा कुटो हाने जसरी त्यो सडक हानेको छ। त्यो सडक खोल्न गाह्रो भएको छ, बल्ल बल्ल खोलीएको थियो फेरि राती पहिरो आयो, त्यसकारण एउटा मात्र बाटो खुलाउने उपकरण होईन कि सडक डिभिजन कार्यालय सुर्खेत, जुम्लालाई त्यहाँ अहिले यो स्याउ आउने सिजनमा सडक खुलाउने उपकरण राख्न संसदबाट अपिल गर्न चहान्छु।’

यस्तै, उनले प्रहरीले स्याउ ल्याउने किसानसँग सय रुपैयाँसम्म घुस मागेको भन्दै स्याउ ल्याएको गाडीलाई कतै पनि चेक नगर्न पनि अपिल गरेका छन्।
उनले भने, ‘सभामुख मार्फत गुहमन्त्रीलाई भन्न चहान्छु जुम्लाबाट स्याउ ल्याएको हो अफिम होईन ठाउँ ठाउँमा प्रहरीले चेक गरेर सय रुपैयाँसम्म घुस मागेको छ किसानसँग त्यसकारण म यहीबाट भन्न चहान्छु स्याउ ल्याएको हो र स्याउ ल्याएको गाडी कतै पनि चेक नगरियोस्।’

साथै, भिटिज भिसा प्रकरणमा निरन्तर आन्दोलनरत रहेको भन्दै आज पनि बैठक बहिष्कार गर्ने पनि उनको भनाई छ।

सांसद शाहीले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन्।