रौतहट । रौतहटमा गत शनिबार माधव नारायण-६ माधोपुरकी २६ बर्षीया रुबीकुमारी साहको हत्या आफूले गरेको लक्ष्मण पासवानले गरेको स्वीकार गरेका छन् । बुधबार बिहान शरिरमा आगो लगाएर आत्मादाह गर्ने प्रयास गरेका पासवानले भिडियो बनाएर प्रेमिका रुबीको हत्या आफूले गरेको स्वीकार गरेका हुन् । प्रहरीले हत्या आरोपित पासवानलाई माधव नारायण–६ स्थित मानपुर बिसनपुर्वास्थित खेतमा शरिर जलिरहेको अबस्थामा फेला पारेको थियो ।
पासवानको शरिरमा आगो लागिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पासवानले आफ्नो शरीरमा आफै आगो लगाउनु पहिला करिब ९ मिनेटको भिडियो सन्देशमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका हुन् । उनले रुबी कि आमा नै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका छन् । उनले आफ्नो शरीरमा आफैंले आगो लगाएर गम्भीर घाइते अवस्थामा छन् ।
रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन् । गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो । अनुसन्धानको क्रममा पासवान नै हत्याका मुख्य आरोपित रहेको रौतहट प्रहरीले जनाएको छ ।
घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकारेका छन् । उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको जिकिर गरेका छन् ।
रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेम विवाह भएको भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन् ।
उनले जारी गरेको भिडियो सन्देशमा राजन, राजु, राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन् । उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोप समेत लगाएका छन् ।
लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए । भारतको मजफरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो । हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले सो भिडिओमा भनेका छन् ।
उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए । आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरु हुने खाने धनीमनीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ ।
उनले बनाएको भिडियोमा अव आफुहरुको भेट माथि हुनेछ भनेका छन् । हत्या भएको राती आफुहरुले लामो समय कुराकानी गरेको र दुबैजनाले मर्ने निधो गरेको भिडियोमा पासवानले भनेका छन् । पासवानले भिडियोमा आफु जेल जान नचाहेको र रुबीलाई भेट्न जान लागेकाले पक्राउ परेका रिक्सा चालकको कुनै दोष नरहेको बताएका छन् ।
पासवालले छातीमा रुबीको फोटो र बायाँ हातको पाखुरामा नामको ट्याटु समेत बनाएको देखिन्छ । आफ्नो शरिरमा आगो लगाई घाइते अवस्थामा पक्राउ परेका पासवानलाई गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँको कीतिपुरमा रहेको वर्न अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिएका छन् । पासवानको करिब ३५–४० प्रतिशत शरिर जलेको अनुमान गरिएको छ ।
यसअघि प्रहरीले रुबीको शव बोकेको इरिक्सा चालक राजकुमार महरालाई पक्राउ गरेको थियो । महराले अनुसन्धान आफुलाई भाडाबाट रु पाच सय रुपैया मात्रै दिएको र अरु केही थाहा नभएको प्रहरीलाई बयान दिएका छन् ।
रुबीको शव शनिबार राती साढे १० बजे गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवला जाने बाटोको मोडमा सुटकेसभित्र भेटिएको थियो ।