काठमाडौं। कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ।
त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा
काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ।
कवाड व्यवसायी ओम प्रकाश सिंहले काठमाडौं महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए।
उनले भने,‘अब हामी पछाडि हट्ने छैनौं। अब हामी कि त बालेनलाई बाध्य बनाउँछौं। कि गर्छौं, कि मर्छौं भनेर लागिपरेका छौं। हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ’
कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीहरुलाई हटाउन काठमाडौं महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए। उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए।
उनले काठमाडौंका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए।
‘हामीले काठमाडौंको मेयरलाई सम्मान दिएको हो। सम्मान दिँदा–दिँदा हामी नै सकिन लाग्यौं। हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो। तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौं। महानगरमा छिरेर तल रोडमा घिसार्ने छौं। हामी सकिन लागेका छौं। तिमीलाई पनि सकाउँछौं। कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौं।’
कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए।