काठमाडौं। पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ।
डेंगी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम गरिँदै आएको छ।
महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर् अभियान सञ्चालन गर्दै आएको छ। यसलाई थप प्रभावकारी बनाउन मेघा अभियान थालिएको उनले बताए। पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालले जानकारी दिए।
त्यस्तै, डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ। भुसालले भने, “समान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर् अभियान सुरु गरेका हौं।”
महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ। विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ।