काभ्रे । नगरपालिकाको उपप्रमुखलाई छोरी भएकै कारण बाबुको किरिया बस्न रोक्ने प्रयास भएको छ । काभ्रेको पनौती नगरपालिका–१ ¥यालेका हरिप्रसाद सापकोटाको ९२ वर्षको उमेरमा आइतबार निधन भयो ।
कम्युनिस्ट पार्टी स्थापना गर्ने र क्रान्तिकारीहरूलाई सेल्टर दिने हरिप्रसादले छोरीहरू सुन्तली, कमला, बिमला, निर्मला र राधिकालाई निडर बन्न, पढ्न र अन्यायसँग जुध्नसक्ने बनाए ।
सानो उमेरमै आमा गुमाएका छोरीहरू विभेद र अन्यायविरुद्ध लड्न सिकाएका आफ्नै बुबाको काजकिरियामै अन्यायको सिकार बने । बुबाको चाहना थियो– आफ्नै छोरीहरूले दागबत्ती दिऊन् र काजकिरिया गरून् ।
तर, समाजले उनीहरू काजकिरियामा बसेको मन पराएन । समामजसँग विद्रोह गर्दै पाँच छोरीमध्ये बिमला, निर्मला र राधिका बुबाको काजकिरियामा बसे । बिरामी भएकाले दुई छोरी सुन्तली र कमला भने काजकिरियामा बस्न सकेनन् ।
सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजकिरिया बस्न नहुने भन्दै विरोध गरे पनि उनीहरू आफ्नो कर्म गरिरहेका छन् । समाजले छोरीहरू काजकिरियामा बसे बहिष्कारसम्मको धम्की दिएको बनेपा नगरपालिकाकी उपप्रमुखसमेत रहेकी बिमला सापकोटाले जानकारी दिइन् ।
‘आफ्नो बुबाको काजकिरिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदै छ, यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ,’ उनले लेखेकी छन्, ‘हामीले अरू कसैको वंशमा दखल गरेका छैनौं, हामी अब थप पीडा सहनसक्ने अवस्थामा छैनौं,’ उनले पीडा सामाजिक सञ्जालसम्ममा यसरी उल्लेख गरेकी छन् ।
बुबाको जीवनको उत्तराद्र्धमा पालनपोषण र औषधोपचार छोरीहरूले नै गरेका हुन् । ज्वार्इंहरूले पनि आफ्नै बुबालाई सेवा गरेजसरी सेवा गरे ।
मृत्युपछिको संस्कारमा भने समाजले वञ्चित गर्न खोज्यो । उनीहरूलाई काजकिरिया बस्न नदिन समाजले बैठक नै राख्यो । सामाजिक अभियन्तासमेत रहेका छोरीहरू समाजको धम्कीबाट डराएनन् । बुबाको काजकिरियामा अघि सरे । सयौंं सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रोत्साहन दिए । बिमलाले हजारौं छोरीमाथि न्यायका लागि बहिष्कृत हुनसमेत तयार रहेर अघि बढेको बताइन् ।
‘ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ, हामीले गरेको यस कामले हजारौं छोरीमाथि न्याय हुनेछ, खबरदार † यो छलफल र बहस रोक, हाल हामी बहिष्कार हुन तयार छौं, १३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ,’ अधिवक्तासमेत रहेकी उनले भनिन्, ‘१३ दिनपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर कर्मघर फर्कनेछौं ।’
अर्की छोरी राधिकाले बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै भनिन्, ‘बुबा तपाईंले सानैदेखि विभेद र अन्यायविरुद्ध लड्न सिकाउनुभयो, कहिल्यै झुक्न दिनुभएन, आज यो समाज तपाईंको काजकिरियामा हामीलाई झुकाउने प्रयत्न गर्दै छ, याद गर हामी तिमीहरूले पटकपटक गरेको विभेद र अन्याय भोग्दाभोग्दा चट्टान बनिसकेका छौं, हिजोजस्तो हरिप्रसादका कमजोर छोरीहरू छन् भन्ने नसम्झ ।’ राधिका एमाले धादिङको सचिवसमेत हुन् ।
सापकोटा दिदीबहिनीहरू किरियामा बसेको र उनीहरूलाई सामाजिक बहिष्कारको प्रयास भएको प्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।
छोरीहरूको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिष्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ ।
अहिले पुरोहित दीपक सुवेदीले काजकिरिया गराइरहेका छन् । उनीहरूले यसअघिका तिहारमा समेत एकअर्कालाई टीका र माला लगाएर एकखालको विद्रोह गरिसकेका थिए ।
राजधानी दैनिकबाट