काठमाडौं । गायक पशुपति शर्मा, सर्जक शिव हमाललगायत कलाकार चढेको कार दुर्घटना भएको छ ।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो । उक्त कारमा पशुपतिसहित लोकगायक शिव हमाल र घनश्याम रिजाल पनि सँगै थिए ।
कार दुर्घटनापछि गायक पशुपति शर्मासहितका अन्य गायकले आफूहरू ठीक रहेको बताएका छन् । प्राप्त भिडियोमा पशुपतिको देब्रे हातमा ब्यान्डेज बाँधेको देख्न सकिन्छ ।
बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा उनीहरू सवार कार दुर्घटना हुँदा शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको थियो । चोट लागेको हातमा उनले ब्यान्डेज बाँधेका छन् ।
गायक हमालले स्लिप खाएर कारको सामान्य दुर्घटना भएको बताएका छन् । भिडियोमा कुरा गर्दै पशुपतिले दुर्घटनापछि ग्रह कटेको बताएका छन् । ‘ग्रह कट्यो । सामान्य चोट मात्र लागेको हो । घाँस काट्दा हात काटेजस्तो हो । नर्मल एक्सिडेन्ट हो, स्लिप खाएको हो’, उनले भनेका छन् ।
उनीहरू सांगीतिक प्रस्तुतिको लागि स्याङ्जा पुगेका हुन् ।