काठमाडौं। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बताए ।
कूल ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्नका लागि न्यूनतम् २७ जना सांसदको समर्थन आवश्यक पर्छ । अहिले प्रदेशसभामा कांग्रेसको १८, एमालेको ११ गरी २९ सांसद रहेका छन् । यो संख्या विश्वासको मतका लागि चाहिने भन्दा २ बढी हो ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) को १०, नाउपाको ७, एकीकृत समाजवादीको ३, राप्रपाको १ र एक स्वतन्त्र सांसद रहेका छन् ।