विद्याबारे एमाले झन् कठोर, अब पार्टीभित्र बहसमै प्रतिबन्ध

विद्याबारे एमाले झन् कठोर, अब पार्टीभित्र बहसमै प्रतिबन्ध

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे नेकपा (एमाले) झन्झन् कठोर बन्दै गएको छ। राष्ट्रपतिबाट बिदा भएको दुई वर्षपछि एमालेमा फर्किने घोषणा गरेकी पूर्वउपाध्यक्ष भण्डारीबारे हुँदै आएको बहसमै एमालेले पूर्णरूपमा प्रतिबन्ध लगाएको हो।

उनीबारे भइरहेका बहसले पार्टी एकतालाई कमजोर बनाउने भन्दै एमालेले आधिकारिक रूपमै छलफलमा रोक लगाएको हो। गतसाता सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले पूर्वराष्ट्रपति भण्डारीसँग जोडेर हुँदै आएको बहस र विवाद समाधान गरेको दाबी गरेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको अपानिमा भण्डारीबारे अबदेखि थप छलफल र बहस गरेर पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम नगर्न’ निर्देशन दिइएको छ। ‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी सुरु भएको बहस र विवादलाई केन्द्र्रीय कमिटीको नवौँ बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ’, अपानिमा भनिएको छ, ‘अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन।’

साउन ६ र ७ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने निर्णय गरेको थियो। बैठकको निर्णयपछि थप व्याख्या गरेर एमालेले अपानिमार्फत नेता, कार्यकर्तालाई सजक र सतर्क गराएको हो। ‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन,’ अपानीमा भनिएको छ, ‘यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन् । भविष्यको कुनै आशा या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ।’

राष्ट्रको नेता भएको व्यक्तिलाई पार्टीले कार्यकर्ता बनाउन नमिल्ने भन्दै उनको सदस्यता नवीकरण नगरिएको एमालेले जनाएको छ। ‘अध्यक्ष भए पनि कार्यकर्ता हो। यहाँ आउनु हुँदैन। पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्र गौरव भएर बस्नुहोस्,’ अपानिमा एमालेले भनेको छ, ‘उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो। उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन।’ ओलीले जारी गरेको अपानिमा भनिएको छ। एमालेले पार्टी राजनीतिमा प्रवेश गर्ने बाटो बन्द गरे पनि पूर्वउपाध्यक्ष भण्डारी भने ‘ब्याक’ नहुने रणनीतिमा छिन्। उनले आफूलाई माझ किराँतकी छोरी भन्दै पछि नहट्ने स्पष्ट सन्देश दिइसकेकी छन्।

एमालेले पार्टीविरुद्ध चार प्रकारका शक्तिहरूले केन्द्रित भएर कुप्रचार गरिरहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा चार शक्तिले पार्टी र नेतृत्वविरुद्ध सुनियोजित रूपमा हमला गरिरहेको बताएका हुन्। चार शक्तिले गोयबल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाल दुरुपयोग गरेर एमालेविरुद्ध कुप्रचार गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न पनि उनले निर्देशन दिएका छन्।

पार्टीको देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्तिहरूले नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहेको एमालेको ठहर छ। यसैगरी, राजसंस्था पुनःस्थापनाको सपना देखेका राजसंस्था समर्थक, दुर्गा प्रसाईंलगायत समूहबाट पनि एमालेले थ्रेट महसुस गरेको छ।

राजसंस्था समर्थकलाई प्रतिगामी र प्रतिक्रियावादीको दोषारोपण गर्दै एमालेले भनेको छ, ‘हाम्रा कारणले आफ्नो चाहना पूरा नभएको उनीहरू ठान्दछन् र हाम्रा विरुद्धमा केन्द्रित छन्।’ माओवादी केन्द्र पनि पार्टीविरुद्ध लागिरेहको अपानिमा उल्लेख छ। ‘हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विक्षिप्त छन्। उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र आपराधिक तरिकाबाट छदम रूपमा हमला गरिरहेका छन्,’ एमालेले भनेको छ। एमालेले उल्लेख गरेको चौथो शक्ति चाहिँ नयाँ र वैकल्पिक शक्ति हुन्।

‘नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य पूरा गर्न (एमाले)ले बाधा पुर्याउने ठानेर हाम्रा विरुद्धको कुप्रचारमा केन्द्रित छन्,’ एमालेले भनेको छ, ‘नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्‍याउनसक्ने क्षतिबारे हाम्रो पार्टी सचेत र स्पष्ट छ। पार्टी र नेतृत्वविरुद्ध शक्तिहरूले गरिरहेको षड्यन्त्रपूर्ण र नियोजित हमलाको सिंगो पार्टी पंक्तिले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ । गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाटै हामीले मिसन ८४ का लागि अनुकूल आधार तयार पार्न सक्दछौं।’