शुरू भयो एक महिने गुँला पर्व

शुरू भयो एक महिने गुँला पर्व

काठमाडौं। एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ।  विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन्।
साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ।

यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ। बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन्।

काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ।
नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ।