काठमाडाैं। भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जान लागेका ४७ नेपाली महिलालाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको छ। भिजिट भिसामा एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना कुवेत जान लागेको पाइएपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा ती महिलाहरूलाई समातिएको हो।
दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको टोलीले ती महिलाहरूलाई सुनौली नाका हुँदै बिहीबार राति रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। उनका अनुसार हाल ती महिलाहरूलाई काठमाडौं ल्याइँदै छ।
यसैबीच, गृहमन्त्री रमेश लेखकले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै कडा अनुसन्धान गर्न निर्देशन दिए। मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई तत्काल छानबिन थाल्न र दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीले आदेश दिएका छन्।
गृह मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका नाममा अवैध ढंगले महिलाहरूलाई विदेश लैजाने कार्य दिनहुँजसो दोहोरिन थालेपछि यसप्रकारका घटनाप्रति सरकार सजग र कठोर रूपमा प्रस्तुत हुने बताइएको छ। गृहमन्त्री लेखकले मानव तस्करीको आशंकामा गहिरो तहसम्म पुगेर अनुसन्धान गर्न निर्देशन दिएका छन्।