थाइल्याण्ड-कम्बोडिया तनाव: गोली हानाहानमा थाइल्याण्डका ९ स्थानीयको मृत्यु

थाइल्याण्ड-कम्बोडिया तनाव: गोली हानाहानमा थाइल्याण्डका ९ स्थानीयको मृत्यु

 एजेन्सी।  थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवाद चर्किंदा थाइल्याण्डका कम्तीमा ९ जना स्थानीयको मृत्यु भएको छ।

दक्षिणपूर्वी एशियाका छिमेकी मुलुकहरुबीच बिहीबार फेरि गोली हानाहान भएपछि थाइल्याण्डले कम्बोडियासंगको सम्पूर्ण सीमा समेत बन्द गरेको छ। कम्बोडियामा रहेका आफ्ना नागरिकलाई मुलुक छोड्न समेत थाइल्याण्डले निर्देशन दिएको छ।

साथै सीमावर्ती ८६ वटा गाउँबाट करिब ४० हजार स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ। आफ्ना सैनिक क्षेत्रमा आक्रमण गर्नकालागि थाइल्याण्डले युद्धक विमान पठाएको आरोप कम्बोडियाले लगाएको छ।

सन् २००८ मा कम्बोडियाले विश्व सम्पदा सूचीमा सूचीकृत ११ औं शताब्दीको एउटा मन्दिर भएको क्षेत्रलाई आफ्नो कब्जामा लिन प्रयास गरेयता दुबै मुलुकबीच सीमा विवाद बढेको हो।

त्यस यता भएका संघर्षमा परी दुबैतर्फ सर्वसाधारण नागरिककासाथै सैनिकको समेत मृत्यु भएको छ । दुई महिना अघी मात्र कम्बोडियाका एक सैनिक थाइल्याण्डको आक्रमणमा परी मारिएपछि दुबै मुलुकको सम्बन्ध निक्कै बिग्रिएको छ।

दुबै मुलुकले एक अर्काको मुलुकबाट आ-आफ्नो राजदूतलाई फिर्ता बोलाएका छन्। कम्बोडियाले थाइल्याण्डबाट फलफुल, तरकारीकासाथै बिजुली र इन्टरनेट सेवाको आयातमा समेत रोक लगाएको छ।