ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४ः५० बजेतिर करेन्ट लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए।
उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ। घटनामा परेर जिप चालक फुङलिङ घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराईसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य गम्भीर घाइते र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन्। आगोले जलेर सविनाकी छोरी १६ वर्षीया आध्या आचार्य, सविनाको माइततर्फका बुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, ममी ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु का ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको इन्स्पेक्टर बस्नेतले बताए।
गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।