काठमाडौं। युक्रेनको सुमी शहरको मध्यभागमा आज भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य ८४ जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ।
रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको बीबीसीले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामान्य मानिसहरुकोआवतजावत भएको ठाउँमा रुसी आक्रमण भएको थियो। उनले आक्रमणस्थलमा उद्दारको काम जारी रहेको जानकारी दिएका छन्।
आक्रमण पछि राष्ट्रपति जेलेन्स्कीले रुसले विश्वलाई नै आतंक र युद्धमा तानिरहेको भन्दै विश्वका नेताहरुलाई रुस विरुद्ध पुन: एकजुट हुन आव्हान गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टेभ विटकोफसँग युक्रेनसँगको युद्ध अन्त्य लगायतका विषयमा गत शुक्रबार भएको कुराकानी लगत्तै यो आक्रमण भएको हो।