इजरायली हमलामा गाजाको अन्तिम अस्पताल पनि ध्वस्त

इजरायली हमलामा गाजाको अन्तिम अस्पताल पनि ध्वस्त

काठमाडौँ । इजरायली हवाई हमलामा गाजा सहरको अन्तिम अस्पताल पनि ध्वस्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त हमलाका कारण अस्पतालको इन्टेन्सिभ केयर युनिट र सर्जरी विभाग पूरा नष्ट भएको बीबीसीले जनाएको छ । 

अनलाइनमा पोस्ट गरिएका भिडियोहरूका अनुसार मिसाइल हमलापछि भवनबाट ठूलो आगोको मुस्लो र धुवाँ निस्केको देखिन्छ । अस्पतालको बेडमा बसेका केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भाग्दै गरेको पनि देखिन्छ ।

इजरायली सेनाले यो अस्पतालमा हमासको कमान्ड र कन्ट्रोल सेन्टर रहेको भन्दै आक्रमण गरेको दाबी गरेको छ । गाजाको नागरिक आपतकालीन सेवाका अनुसार उक्त हमलामा प्रत्यक्ष कुनै व्यक्तिको ज्यान भने नगएको बताइएको छ । तर, टाउकोमा चोट लागेका एक उपचाररत बच्चाको स्थानान्तरण गर्ने प्रक्रियामा ज्यान गएको छ ।

हमास–नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले उक्त अस्पताल भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र यसले बिरामी र अस्पताल कर्मचारीलाई स्थानान्तरण गरिएको बताएको छ ।