काठमाडौं। पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ। शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो। अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए।
सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन्। झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो।