सिंहदरबार खाली गर्न नेताहरूलाई प्रभु साहको चेतावनी

सिंहदरबार खाली गर्न नेताहरूलाई प्रभु साहको चेतावनी

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने चेतावनी दिएका हुन् ।

लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने उनको उद्घोष छ । सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरुको व्यवहारलाई कडा प्रश्न गरे ।

उनले भने,‘यी चोर नेताहरुलाई म सोध्न चाहन्छु–के तिमीहरुलाई राजा बनाउनको लागि नेपाली जनताले लडेका थिए ? तिमीहरुको छोराछोरीलाई विदेशमा मोजमस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौं ? के तिमीहरुलाई र तिमीहरुको खानदान, दर खानदानसम्मलाई पुग्ने अकुत सम्पत्तिको मालिक बनाउनको लागि लडेका थियौं ?’

साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरुले बेचेर खाएको गम्भीर आरोप लगाए । ‘देशलाई बन्धकी राखेर तिमीहरुको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौं नि, नेपाली युवाहरुलाई विदेशमा मार्न तिमीहरुलाई नेता बनाएका हौं ? तिमीहरुको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौं र ?’

साहले आज देशमा नेताहरुको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे । उनले भने,‘हामी हेर्न सक्छौं, लुट र भ्रष्टाचार बढेको छ, जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने बाध्यता सुनाए । जनताको करबाट बनेको बजेट आज टाउके नेताहरुले निजी सम्पत्तिजस्तो अंशबण्डाझैं भागबण्डा लगाएर खाईरहेको उनको गम्भीर आरोप छ । उनले भने,‘जल बेचे, जमिन बेचे, जंगल बेचे, यी चोर नेताले आज हुँदाहुँदै जनतासमेत बेचिरहेका छन् । लुटेराहरुले देशको सम्पत्ति खुलेआम विदेशमा थुपारिरहेका छन् ।’ कहिल्यै कसैको गुलाम नभएको देशलाई अहिलेका चोर नेताहरुले विदेशीको गुलाम र दलाली गर्दा आज नेपाल र नेपालीहरुको इज्जत तारतार भएको उनको आरोप छ ।

उनले शहीदहरुको रगतको व्यापार भैरहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले शहिदरुको रगतको व्यापार भैरहेको छ, बदलावको बहाव बरालिएको छ, आन्दोलनका वीर योद्धाहरु विक्षिप्त छन् । नेताहरुको कुकर्म र अत्याचारले देश अँध्यारो सुरूङमार्गमा फसेको छ ।’ साहले आफूहरुले थालेको आन्दोलनको वेगलाई अहिलेका चोर नेताले रोक्न नसक्ने चेतावनी दिए ।

‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन, हावाको बहावलाई कसैले रोक्न सकेको छैन, त्यसैले याद राख–तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौं । हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ ।’

साहले छोटे राजाहरुले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको ज्यादतीको पनि भण्डाफोर गरेका थिए । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे । काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए ।

उनले भने,‘युद्ध लड्दापनि दुश्मनलाई पानी रोकिँदैन्, तर यहाँ संघीय राजधानी काठमाडौंमा त सुकुम्वासीहरुलाई राज्यले पिउने पानी रोकेर मानवताविरोधी अपराध गरेको छ, यो अपराध अक्षम्य छ, म सरकारलाई चेतावनी दिन्छु–यो हदसम्मको अपराध गर्न मिल्छ ? तपाईंहरु मानवता हराएको मान्छे हो भन्ने थाहा छ, तर यो तहको मानवताविरोधी अपराध गर्न मिल्छ ?’

उनले सरकारमा बसेर निमुखा जनतामाथि राज्य बर्बरता र मानवताविरोधी अपराध गर्ने जो/कोहीलाई पनि जनताले अब नछोड्ने चेतावनी दिए । उनले जनतामाथि दुनियाँमा नभएको कर आतंक मच्चाईएको भन्दै तत्काल त्यो कर आतंक रोक्नपनि माग गरे ।

नेपालमा दुनियाँमा नभएको तीन तहको ७६१ वटा सरकारले मनोमानी ढंगले कर आतंक सिर्जना गरेको र तर त्यसको बदलामा केहीपनि सुविधा नदिएको भन्दै अब जनता करको सास्ती खेपेर बस्ने अवस्थामा नभएको भन्दै उनले कर बहिष्कारको लागि आम जनतासामू अपिल गरे । उनले नेपालमा बैंक, लघुवित्त र सहकारीको समस्यापनि चरम सिमामा पुगेको भन्दै जताततै ठगिनेमा जनता नै परेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले नेपालमा बैंकरहरु नै मालिक र ऋणी बनेको भन्दै यो अपराधपनि अब स्विकार्य नहुने चेतावनी दिए । उनले दलित आवासको नाममा पनि निमुखा दलितहरुमाथि अत्याचार गरेको भन्दै कडा आपत्ति जनाए । उनले आजको युगमा ७५ हजारमा आवास बन्छ ? भन्दै सरकारमा बसेकाहरुलाई प्रश्न गरे । उनले भने,‘तिमीहरु लाखौंको वस्त्रधारण गर्ने अनि दलित आवास चाहीा ७५ हजारमा बनाउने भनेर ठग्ने काम गर्छौं, अब यो स्विकार्य हुँदैन् ।’

सिंगो देश र जनताले गौरव गर्नुपर्ने किसान आज पिल्सिनुपरेको र गरिबीमा बाँच्नुपर्ने अवस्थामा पुर्याउने नेताहरुलाई कुनैपनि हालतमा अब जनताले नछोड्ने अर्को चेतावनी दिए । उनले तत्काल किसानलाई पेन्सन दिनपनि सरकारलाई आग्रह गरे । श्रेणिविही कर्मचारीलाई तत्काल लोकसेवा खुलाएर स्थायी गर्नपनि साहको माग छ ।

उनले सरकारले प्राकृतिक स्रोत र सम्पदाको दोहन गरेको भन्दै त्यसमा पनि विरोध जनाए । वैदेशिक रोजगारीमा भैरहेको ठगीमा सरकार नै साझेदार बनेको र उल्टै आफ्ना नागरिकलाई लुट्ने काम गरेको साहको गम्भीर आरोप छ । उनले भने,‘नेपाली युवाहरु ठगिएको बारेमा मैले संसद्मा आवाज उठाएँ, प्रधानमन्त्रीले म मेनपावर हुँ भन्नुभयो, तपाईं मेनपावर नभएको भए कसरी जनता विदेश गैरहेका छन्, श्रम स्विकृति कसले दिएको छ ? डिमाण्ड लेटर कसले बनाउँछ ? म भन्छु वैदेशिक रोजगारीको सवालमा सरकार नै एक नम्बरको र ठूलो मेनपावर हो । यस क्षेत्रमा हुने ठगीको जिम्मा सरकार र प्रधानमन्त्रीले लिनुपर्छ ।’