घुम्न जाउँ भन्दै जंगलमा लगेर गर्भवती पत्नीको हत्या, डोजरले खाल्डो खनी पुरे, यसरी भयो खुलासा

घुम्न जाउँ भन्दै जंगलमा लगेर गर्भवती पत्नीको हत्या, डोजरले खाल्डो खनी पुरे, यसरी भयो खुलासा

विराटनगर । श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय  गिरीलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले श्रीमती हराएको भन्दै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए । उनले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास गरेको थियो ।

अनुसन्धानका क्रममा श्रीमान् माथि नै शंका लागेपछि प्रहरीले अनुसन्धानको दायरा श्रीमान् तिर केन्द्रित गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले अनुसन्धानका क्रममा श्रीमती हराएको भनी प्रहरीमा उजुरी दिने उमेश गिरी नै हत्यामा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको बताए ।

अनुसन्धानका क्रममा गिरीले फागुन २९ गते श्रीमतीको हत्या गरेको खुलेको छ । गिरी एक्साभेटर चालक रहेको र घुम्न जाउँ भनी श्रीमतीको हत्या गरेर एक्साभेटरले खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको छ ।

विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्स्काभेटर चालक रहेका उमेश गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए। 

छुटाउनुभयो कि ?