सवारी दुर्घटनामा सात जनाको मृत्यु

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। 

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी चोकस्थित सडकमा बेतहनी बजारबाट बाबागाउँतर्फ जाँदै गरेको भे.१ ख १४०७ नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने हरिद्वार गोडियाको छोराहरू ९ वर्षीय विशाल गोडिया र ७ वर्षीय शिव गोडीयाको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, राप्ती नगरपालिका-१२ कपता भञ्ज्याङस्थित सडकमा लोथर खोलाबाट बोक्राङतर्फ जाँदै गरेको ग.१ त ४५८४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही नगरपालिका-१२ बोक्राङ बस्ने ३९ वर्षीय रबिन प्रजाको आइतबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

रूपन्देही, ओमसतिया गाउँपालिका-४ मटेरियास्थित सडकमा लुम्बिनी प्रदेश ०१-००१ ह ०५५० नम्बरको ईरिक्साबाट खसेर ईरिक्सामा सवार सोही ठाउँ बस्ने करण थारूको छोरा ३ वर्षीय सिद्धार्थ थारूको आइतबार दिउँसो मृत्यु भएको छ। ईरिक्साबाट खसेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ईरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ।

बारा, आदर्शकोतवाल गाउँपालिका-५ टेढाकट्टीस्थित सडकमा गौरबाट कोतवालीतर्फ आउँदै गरेको ग.६ प ८९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने ६५ वर्षीया संजोतिया देवीको मृत्यु भएको छ। आइतबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा सु.प.प्र.०१-००१ प २२११ नम्बरको ट्याङ्करको ठक्करबाट साइकलयात्री गोदावरी नगरपालिका-८ बस्ने २१ वर्षीया पार्वती खड्काको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।