काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् ।
बुधबार बाराको सिमरामा अयाोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको जन्म नै अप्राकृतिक ढंगले भएको, यसले देश र जनताको हितमा काम गर्न नसक्ने र धेरै लामो पनि नटिक्ने बताएका हुन्।
आफू पछिल्लो पटक प्रधानमन्त्रीको हैसियत रहँदा भ्रष्टाचारको विरुद्ध एउटा अभियान छेडेकै उनले बताए । उक्त भ्रष्टाचारविरुद्धको अभियान नेपालको इतिहासमा पहिलो ठूलो अभियान रहेको प्रचण्डको दाबी छ ।
सो अभियानमा राजनीतिक दलका नेता, कर्मचारीतन्त्रका ठूल्ठूला हाकिमहरु, भूमाफियाहरुलगायत सबैलाई छानविनको दायरामा ल्याइएको उनले बताए । त्यसले जनतामा आशा, थोरै भरोसा जगाएकै अवस्थामा सामाजिक न्यायको पक्षमा पनि नागरिकताको समस्या, मिटरव्याज पीडितको समस्यालगायतका क्षेत्रमा तत्कालीन सरकारले उल्लेखनीय कार्य गरेको उनले बताए ।
आफू नेतृत्वको तत्कालीन सरकारले जनपक्षीय काम गरिरहँदा दलाल, विचौलिया र प्रतिक्रियावादी शक्तिहरुले सरकार ढालेको उनले सुनाए । अहिलेको सरकारको जन्म नै अप्राकृतिक रहेकाले पनि यो धेरै नटिक्ने उनको जिकिर छ ।
‘सबै राम्रो काम हुँदैगर्दा कहीँ न कहीँ सरकार दलालहरुले, विचौलियाहरुले या प्रतिक्रियावादीहरुले अनेक षड्यन्त्र गरे । म अहिले त्यसको लामो ब्याख्या गर्दिनँ । तर, त्यो टिक्ने र चल्नेवाला छैन । किनभने यसको जन्म नै गलत तरिकाले, अप्राकृतिक तरिकाले जन्मिएको सरकार भएको हुनाले यो धेरै अगाडि जाने कुरा पनि छैन । यसले राष्ट्र र जनताको पक्षमा राम्रो काम गर्न सक्ने स्थिति पनि छैन । किनकी यसको जन्म भएकै भ्रष्टाचारीलाई बचाउन हो,’ प्रचण्डले भने ।