आमिर खानकी नयाँ प्रेमिका गौरी को हुन् ?

आमिर खानकी नयाँ प्रेमिका गौरी को हुन् ?

काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् ।

आमिर खानले बिहीबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार सम्मेलनमा आफ्नो जीवन र फिल्म उद्योगको यात्राको बारेमा कुरा गरिरहेका थिए । यस क्रममा उनले आफ्नी नयाँ प्रेमिकाको बारेमा खुलासा गरे । बैंगलोरकी गौरी प्रेटसँग आफु १८ महिनादेखि साथमा रहेको बताए ।

प्रश्नको जवाफ दिदै ६० बर्षिय अभिनेता आमिरले भने- 'सम्बन्धहरू मेरो लागि धेरै महत्त्वपूर्ण छन् ।'

आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्। उनले आफ्नी पहिलो श्रीमती रीना दत्तासँग सम्बन्ध विच्छेद गरेपछि किरण रावसँग विवाह गरेका थिए । उनले २०२१ मा किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । उनी र रीना दत्त २००२ मा अलग भएका थिए । यस विवाहबाट उनका दुई सन्तान छन् । २००५ मा, उनले फिल्म निर्माता तथा निर्देशक किरण रावसँग विवाह गरेका थिए । दुवै २०२१ मा अलग भए । यस विवाहबाट उनको एक छोरा छ ।

तर, आमिर भन्छन्, अलग भएपछि पनि दुवै श्रीमतीसँग उनको राम्रो मित्रता छ र दुवैले आफ्नो छोरालाई सँगै हुर्काइरहेका छन् । डिभोर्सपछि किरणसँग मिलेर आमिरले फिल्म 'लपता लेडीज' मा पनि सँगै काम गरेका थिए ।

पत्रकार सम्मेलनमा आमिर खानले गौरी प्रटलाई परिचय गराउनुअघि आफ्नो पुरानो फिल्म 'लगान' सम्झिए र भने, 'भुवनले आफ्नी गौरी भेट्टाइसकेका छन् ।'

२००१ को फिल्म 'लगान' मा आमिर खान र ग्रेसी सिंहले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा आमिरको पात्रको नाम भुवन थियो भने ग्रेसीको पात्रको नाम गौरी थियो। पत्रकार सम्मेलनमा आमिर खानले 'राजाको रानी से प्यार हो गया' गीत पनि गाए र गौरीको बारेमा थप जानकारी दिएका थिए ।

उनले सञ्चारकर्मीहरूलाई भने, 'मलाई लाग्छ तपाईंहरूले उनलाई राम्रो अवसरमा भेट्नुहुनेछ र हामी पनि यो कुरा गोप्य राख्न चाहँदैनौं । मैले सलमान खान र शाहरुख खानसँग उनको भेटघाट गराइसकेको छु ।' आफ्नी प्रेमिकाको बारेमा थप जानकारी दिँदै आमिर खानले भने, 'उनी बैंगलोरकी हुन् । वास्तवमा, हामी दुवैले एकअर्कालाई २५ वर्षदेखि चिन्छौं । तर हामी डेढ वर्षअघि मात्र भेटेका थियौं ।' उनले अगाडी भने- 'उनी कुनै कामको लागि मुम्बईमा थिइन् र हाम्रो अचानक भेट भयो । त्यसबेलादेखि, हामी एकअर्कासँग सम्पर्कमा रह्यौं र सबै कुरा त्यस्तै भयो, जस्तो प्रेममा परेपछि हुन्छ ।'

टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्ट अनुसार, गौरी रीता प्रेटकी छोरी हुन् र उनकी आमाको बेंगलुरुमा एउटा सैलुन छ । उनले आफ्नो सम्पूर्ण जीवन सोहि शहरमा बिताएका छन् ।

आमिर खानले भने, 'म भाग्यमानी छु कि म बलियो सम्बन्धमा छु । रीनासँग मेरो सम्बन्ध लगभग १६ वर्षसम्म रह्यो । यसपछि, मैले किरणसँग १६ वर्ष बिताएँ र एक तरिकाले हामी अझै पनि सँगै छौं । मैले जीवनमा धेरै कुरा सिकेको छु । म गौरीसँग शान्ति महसुस गर्छु ।'

गौरीको बारेमा थप जानकारी दिँदै उनले भने- उनको छ वर्षको छोरा छ, जो बुद्धिमान छ र उनलाई भेटेर खुसी छ ।

डेक्कन हेराल्डको एक रिपोर्ट अनुसार, आमिर खानको परिवारले उनलाई खुला हातले स्वागत गरेको गौरीले बताएकी छन् ।

आमिरले भने, 'गौरी अहिले मेरो प्रोडक्सन हाउसमा काम गर्छिन् ।' विवाहको प्रश्नमा आमिर खानले भने, 'मलाई थाहा छैन, साठी वर्षको उमेरमा विवाह मलाई सुहाउँछ कि सुहाउँदैन । तर मेरा छोराछोरी खुसी छन् र म धेरै भाग्यमानी छु कि मेरा पूर्व पत्नीहरूसँग मेरो राम्रो सम्बन्ध छ ।'