काठमाडौं। जनताको विश्वास जित्ने, आर्थिक अवस्था सुधार गर्ने, संविधान संशोधन गर्नेलगायतका विषयलाई मुख्य एजेण्डा बनाउँदै सरकारको बागडोर सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला निकै आलोचित बन्न पुगेका छन्।
एकपछि अर्को गर्दै अलोप्रिय काम गरिरहेका प्रधानमन्त्री ओली यतिबेला नेपालका सबैभन्दा आलोचित नेता बन्न पुगेका छन्। कतिपसम्म भने केही दिन अगाडि ओलीले आफ्नो जन्म दिन मनाइ रहँदा समाजिक संजालमा उनलाई शुभकामना दिने भन्दा गाली गर्ने धेरै थिए।
प्रधानमन्त्री ओलीले राम्रै कुरा गरेपछि उनको समर्थन भन्दा विरोध बढी हुने गरेको छ। कुनै बेला युवा जनताबीच लोकप्रिय मानिने ओलीले आफैंले समर्थन गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हटाएर आफैं प्रधानमन्त्री बन्न पुगेपछि उनको आलोचना बढ्न थालेको हो।
आलोचनाको ग्राफ त्यतिबेला बढ्न थाल्यो जतिबेला ओली नेतृत्वको सरकारले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ ग¥यो। मुख्यतः ओली सरकार गठन हुनु पछाडिको कारण विरोधीलाई सिध्याउने र नजिककालाई जोगाउन थियो भन्नेहरुलाई बल पुग्ने गरी सरकारले एकपछि अर्को काम गर्दै गइरहेको छ।
जनताले अध्याधिक मन पराएका नेता रवि लामिछानेलाई सहकारी ठगी प्रकणरमा फसाउने र अन्यलाई कमजोर पार्ने नीति सरकारले लिएपछि त्यसको मारमा स्वयं प्रधानमन्त्री परेको देखिन्छ। लोकप्रिय काम गर्न नसकिरहेको सरकार एकपछि अर्को गर्दै अलोकप्रिय काम गर्न उद्दत छ।
ओली सरकार यतिबेला जनताले अत्याधिक मन पराएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काम गर्न अप्ठेरो पार्ने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने खेलमा लागेका छन्। कुलमानलाई हटाउने सरकारले अन्तिम तयारी गरिरहेको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काम गर्न नदिने रणनीति सरकारले दिएको छ।
कुलमान र बालेनप्रति ओली सुरुदेखि नै नकारात्मक रहेका छन्। चरम लोडसेडिङका बेला ६१ वटा उद्योगले विजुली प्रयोग गरेर महशुल नतिरेपछि प्राधिकरणले महशुल तिर्न ताकेता गर्दै आएको छ।
प्राधिकरणका अनुसार ती उद्योगहरुले झण्डै आठ अर्व रकम तिर्न बाँकी छ। तर व्यवसायी भने राजनीति आडमा उक्त रकम नतिर्न लविङमा लागेका छन्। प्राधिकरणले विद्युत महशुलत तिर्न पटक पटक पत्र काट्दा पनि उद्योगीले नटेरेपछि प्राधिकरणले सुरुमा पाँचवटा उद्योगको लाइन काटेको थियो भने बाँकीको लाइन काट्ने तयारीमा थियो।
तर प्रधानमन्त्रीमा ओली नियुक्त भएसँगै उनले लाइन काटिएका उद्योगमा तत्काल लाइन जोड्न निर्देशन दिए। सरकारले विद्युतको क्षेत्रमा निकै राम्रो काम गरिरहेका कुलमान घिसिङलाई जसरी पनि त्यहाँबाट हटाउने तयारी गरेको छ।
उर्जामन्त्री दीपक खड्का त कुलमानको पछाडि हात धोएरै लागेका छन्। सरकार कुलमानलाई तीन दिने स्पष्टिकरण सोधिसकेको छ। र कुलमानलाई हटाएर उनको ठाउँमा विभिन्न काण्डमा मुछिएका पूर्व सचिव अर्जुन कार्कीलाई नियुक्त गर्ने तयारी गरेको छ।
उता प्रधानमन्त्री ओली काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति सुरुदेखि नै असन्तुष्ट रहँदै आएका थिए। ओलीले सार्वजनिक मञ्चबाट मेयर साहप्रति टिप्पणी गर्दा मेयर बालेनले सामाजिक संजालमार्फत ओलीलाई भ्रष्टचारीको संज्ञा दिने गरेका छन्।
अहिले पनि मेयर साह र एमालेबाट निर्वाचित वडा अध्यक्षबीचको विवाद चर्को हुने गरेको छ। काठमाडौं महानगरको मेयर निर्वाचित हुनेबित्तिकै बालेनले नक्सामा अन्डरग्राउन्ड पार्किङ भनिए पनि सुविधा उपलब्ध नगराएका व्यवसायिक संरचनामाथि आँखा लगाए। यस्ता भवनको पार्किङ खुला गर्न मेयर बालेन आफैँ डोजर लिएर पुगे।
त्यही डोजरमा सवार भएर १२ मंसिर २०७९ मा मेयर बालेन थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्तीमा पुगे। बस्ती भत्काउन गएका महानगरका प्रहरी र सुकुम्बासीबीच घम्साघम्सी भयो।
यो घम्साघम्सीबीच बस्ती नभत्काइ फर्कियो महानगर। त्यसपछि केपी शर्मा ओलीले बालेनको नाम नलिइकनै सुकुमबासी बस्तीमा डोजर नचलाउन भने। गरिबहरुमाथि अन्याय नगर्न भने ओलीले। ओलीलाई तुरुन्तै जवाफ फर्काए बालेनले। ओलीले सुकुम्बासीका नाममा राजनीति गरेको भन्दै ओलीमाथि फेसबुक स्टाटसबाट प्रहार गर्न थाले।
पुराना नेताहरुले ‘इग्नोर’ गरेको सामाजिक सञ्जाललाई आफ्नो भोट बैंक बनाएर काठमाडौं महानगरको चुनाव जितेका बालेन आफ्ना कुरा राख्न त्यही सामाजिक सञ्जाल प्रयोग गर्छन्।
१३ मंसिर २०७९ मा बालेनले लेखे- अधिकार सम्पन्न वाग्मती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ। तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन।’
बालेनको आक्रोश यतिमै थामिएन– ‘सुकुम्वासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो। त्यो पनि राजनीतिक स्वार्थवस। तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन। तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।’
२२ असार २०८१ मा वाग्मतीमा आएको बाढीले सुकुम्बासी बस्ती डुबानमा प¥यो। बालेनले ओलीलाई कटाक्ष गर्ने मौका पाइहाले। उनले फेसबुकबाट ओलीलाई प्रहर गर्दै लेखे, ‘आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे।
अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’
बालेन यतिमै रोकिएनन्। गिरिबन्धु टि–ईस्टेटको कुरा उप्काउँदै उनले ओलीमाथि कटाक्ष गरे– ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित। अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु।’
गिरिबन्धु टि–ईस्टेको विषयमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदियो। त्यसयता निरन्तरजसो बालेन ओलीलाई ‘गिरिबन्धु’को प्रसंग कोट्याउँदै फेसबुकबाट जिस्काइरहन्छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हटेर ओली नेतृत्वमा सरकार बन्दा ओली र शेरबहादुर देउवाको तस्बिर फेसबुकमा राख्दै बालेनले लेखे, ‘यो समय गिरिबन्धु चियाको हो।’
बालेनले ओलीलाई समाजिक संजालमार्फत जवाफ दिएपनि कुलमानले भने कामले नै जवाफ दिँदै आएका छन्। तीनै कुलमानलाई अब सरकारले चाँडै हटाउने भएको छ।