चार दिनसम्म बोराभित्र राखे युवतीको शव, गन्हाउन थालेपछि ४ जनाले फाले बागमतीमा

चार दिनसम्म बोराभित्र राखे युवतीको शव, गन्हाउन थालेपछि ४ जनाले फाले बागमतीमा

काठमाडौँ । गत शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्ति पूजा गर्न भनेर पसे ।

ती व्यक्तिले नदीको बीच भागमा पानीमा डुबेको अवस्थामा एउटा ठूलो पोको देखे । बागमतीको जल लिने क्रममा ती व्यक्तिले बोरा र तन्नाले बेरिएको उक्त पोको नजिकैबाट नियाल्दा मान्छेको हात देखियो । ठूलो पोको समेत देखिएकाले शव हुनसक्ने भन्दै उनले वरिपरिका मान्छेलाई सुनाए । त्यसपछि उक्त घटनाबारे प्रहरीलाई जानकारी आयो ।

प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा खटियो । उक्त पोको निकालेर हेर्दा एक महिलाको शव फेला पर्‍यो । अन्दाजी ३०/३५ वर्ष देखिने महिलाको शव बोरा, तन्नामा प्याक गरेको अवस्थामा बागमती नदीमा फेला परेपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढायो ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म एक नाबालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौंडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार, पेम्बा तामाङ र एक नाबालक छन् ।

पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । यता मृत भेटिएकी युवतीको सनाखत समेत हुन सकेको छैन । पक्राउ परेकाहरूले ओखलढुंगा घर बताउने गरेको भने पनि मृत महिलाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमाल बताउँछन् ।

पक्राउ परेकाहरू ज्याला मजदुरी गर्नेहरू रहेको प्रहरीले जनाएको छ । महांकाल, बौद्ध, जोरपाटी, नारायणटार लगायत क्षेत्रमा उनीहरू ज्याला मजदुरी गर्ने गरेको प्रहरीको भनाइ छ । ‘उनीहरूको काम गर्ने र बस्ने ठाउँको ठेगान समेत हुँदैन रहेछ । गोजीमा पैसा सकिएपछि मात्रै काम गर्ने र केही रकम हुनासाथ काम नगर्ने गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकारीले भने ।

रकम हुनासाथ मदिरा र गाँजा समेत सेवन गर्ने गरेको उनीहरूले प्रहरी समक्ष बताएका छन् । घटना भएको रात समेत उनीहरूले मदिरा र गाँजा सेवन गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए । ‘मदिरा, गाँजा समेत सेवन गरेर राति एकै कोठामा बसेको देखिन्छ । घटना भएपछि भने दुई युवाहरू फरार भएको खुलेको छ,’ एक अधिकृतले भने ।

अनुसन्धानमा खटिएका अधिकृतहरूका अनुसार यो घटना २० फागुन राति भएको हो । मृत भेटिएकी युवती, हाल पक्राउ परेकी पूजा, कैलाश खड्का र सुरेश तामाङ राति सँगै पूजाको कोठामा सुतेका थिए ।

मदिरा र गाँजा समेत सेवन गरेर सँगै सुतेका उनीहरू बिहान उठ्दा भने कैलाश र सुरेश भने फरार भइसकेका थिए । पक्राउ परेकी पूजाले प्रहरीलाई बताए अनुसार बिहान उनले हाल मृत भेटिएकी अर्की युवतीलाई उठाउन खोज्दा उठिनन् । हेर्दा खेरी मृत अवस्थामा फेला परेको तर आफूहरूले हत्या नगरेको उनले बताएकी छन् ।

शवको प्रकृति हेर्दा पनि कतै घाउ चोट समेत नेदेखिएकाले घटना संकास्पद रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका अन्यले पनि राति सँगै सुतेको र बिहानीपख हेर्दा मृत देखेपछि फसिने डरले आफहरूले शव व्यवस्थापन गरेर फरार भएको दाबी गरेका छन् ।

हाल पहिचान खुल्न नसकेकी ती युवती मृत भेटिएपछि पूजाले घटनाबारे हाल पक्राउ परेकाहरूलाई जानकारी गराएकी थिइन् । त्यसपछि अन्य व्यक्ति समेत आएर शव छोपछाप गरेर कोठामै राखे । चार दिनसम्म शव कोठामै राखेपछि गन्हाएर अरूले थाहा पाउलान् कि भन्ने डरले उनीहरूले तन्ना र बोराले प्याक गरेर बागतमती नदीमा फालेको बयान दिएका छन् ।