ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मिल्यो भेटवार्ताको चाँजोपाँजो

ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मिल्यो भेटवार्ताको चाँजोपाँजो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्।

बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरूको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जान लागेका हुन्।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ। सम्मेलन आउँदो चैत १९ र २० (अप्रिल २ र ३) मा थाइल्याण्डमा हुँदैछ।
यसअघि २ महिनाअघि नै बिम्स्टेक सम्मेलन गर्ने भने पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन रोकिएको थियो। सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ।

‘दुई प्रधानमन्त्रीबीच साइडलाइन भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया सुरू गरेको छ, सम्भवत भेट हुनेछ,’ परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो।यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो।

नेपाली र भारतीय विदेश मन्त्री, विदेश सचिव र सरकारका उच्चपदस्थ अधिकारीहरूसहित भएको उक्त भेट सौहार्दपूर्ण भएको दुवै प्रधामन्त्रीहरूले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका थिए।

त्यसबेला दुई प्रधानमन्त्रीबीच ओलीसँग ऊर्जा, प्रबिधि र व्यापारजस्ता विषयहरूमा छलफल भएको सामाजिक सञ्जालमा लेखका छन्। यसबाहेक भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् विभिन्न चार विषयमा छलफल भएको थियो।