काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर देखिएको छ। आज वायु प्रदूषण मापनमा काठमाडौँको वायु प्रदूषण विश्वमै पाँचौँ स्थानमा छ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै पाँचौँ स्थानमा देखिएको हो। आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भारतको राजधानी नयाँ दिल्ली छ।
इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९१ छ। आज प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई २१९ छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर मानिन्छ।
५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।
दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।
काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।
आज विश्वका प्रमुख प्रदूषित सहरको दोस्रो नम्बरमा भियतनामको हनोइ, तेस्रो नम्बरमा बंगलादेशको ढाका र चौथो नम्बरमा चीनको बेइजिङ छ।