काठमाडौँ । युक्रेनमाथि रुसले गरेको आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
रुसले गरेका पछिल्ला आक्रमणहरूबाट कम्तीमा २५ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शनिबार बताएका हुन् । डोनेट्स्कमा भएको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसमा ६ जना बालबालिका पनि छन् ।
आक्रमण खार्किभ र ओडेसालगायत अन्य क्षेत्रहरूमा रहेका आवासीय परिसर र पूर्वाधारहरू पनि लक्षित थिए ।अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी दिन प्रतिबन्ध लगाएसँगै पछिल्ला दिनहरूमा रुसले आक्रमण तीव्र पारेको बीबीसीको समाचारमा उल्लेख छ ।
युक्रेनमा रुसको पछिल्लो आक्रमणबारे पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले प्रतिक्रिया जनाएका छन् । ‘जब तपाईं कुनै बर्बरलाई खुसी पार्नुहुन्छ, तब यस्तै हुन्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।’
यसअघि, गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिकी राष्ट्रपति कार्यालयमा चर्काचर्की परेको थियो । युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो ।