काठमाडौं। यस वर्षको मनसुनपूर्व प्रिमनसुनको वर्षा शुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनी मौसमको प्रभावले देशका विभिन्न भागमा सामान्य वर्षा र उच्च क्षेत्रमा हिमपात शुरु भएको छ ।
प्रिमनसुनले आउँदै गरेको मनसुनको लागि वातावरण बनाउने काम गर्दछ । प्रिमनसुनको अवधिमा अप्रस्यासित रुपमा मौसममा बदली भइ मेघ गर्जन र चट्याङ सहित वर्षा हुने मौसमविद्हरुको भनाइ छ । कतिपय अवस्थामा हावाहुरी समेत चल्ने उनीहरुको भनाइ छ ।
प्रिमनसुनकै क्रममा गएराति काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा छिटपुट वर्षा भयो । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गएराति नै मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव चार, खोटाङमा तीन, दोलखामा एक दशमलव दुई, सोलुखुम्बुमा एक दशमलव तीन, सिन्धुपाल्चोकमा एक दशमलव दुई मिलिमिटर वर्षा भयो ।
छिटपुट वर्षा हुँदा काठमाडौं उपत्यकामा चिसो पनि बढेको छ । महाखाशाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।