काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ शुक्रवार २३ फागुनबाट मुलुक भरका चलचित्र घरमा प्रदर्शन हुँदै छ । यो चलचित्रले देशभर २३० भन्दा बढी सो पाएको यसको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्र नेपालमा प्रदर्शन हुँदै गर्दा यसको विदेश राईट्स पनि विक्री भइसकेको छ । विदेशमा पनि यसै साताबाट प्रदर्शन सुरु हुने निर्माण पक्षको कथन छ । यो चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् । यो साता होस्टेल ३ ले एकल रिलिज हुने अवसर पाएको छ । गत बुधवार रिलिज भएका चलचित्रहरू फेरि रेशम फिलिली, मायावी दोस्रो सातामा प्रदर्शन भइरहेका छन् । यसै क्रममा शुक्रवारबाट होस्टेल ३ आएको हो ।
यो चलचित्रको मुख्य भूमिकामा नयाँ कलाकारहरू पारस बम ठकुरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, रिहान गिरी, समा पराजुल लगायतका कलाकारको अभिनय रहेको छ । यसमा परिचित कलाकारहरू अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि विभिन्न भूमिकामा छन् ।
यस अघि ‘होस्टेल’ र ‘होस्टेल रिटर्न’ले बक्स अफिसमा सुपर हिट चलचित्रको उपमा पाइसकेको थियो । त्यसकै प्रिक्वेलको रूपमा यो तेस्रो सृंखला निर्माण गरिएको निर्देशक सशानले राजधानीलाई बताए ।
यो चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । उनी यो चलचित्रमा एसोसियट निर्देशकको भूमिकामा पनि छन् । चलचित्रको छायांकारमा अर्जुन तिवारी, सम्पादकमा विकास दाहाल रहेका छन् । चलचित्रका द्वन्द्व निर्देशक हिमाल केसी हुन् भने यसमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत रहेको छ ।
यम ओलीको प्रोडक्शन डिजाइन रहेको होस्टेल ३ को नृत्य निर्देशनमा प्रवीण सिंह र रोशन विश्वकर्मा, वितरकमा काठमाडौं उपत्यकाको लागि काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिरको लागि आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) रहेका छन् ।
चलचित्रका निर्मातामा सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी छन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।