क्रिप्टोसरेन्सी ठगीमा तमन्ना र काजल विरुद्ध उजुरी

क्रिप्टोसरेन्सी ठगीमा तमन्ना र काजल विरुद्ध उजुरी

मुम्बई । बलिउड अभिनेत्री तमन्ना भाटिया र काजल अग्रवाल २ करोड ४ लाख रुपैयाँको क्रिप्टोकरेन्सी ठगी मुद्दामा मुछिएका छन् । यी दुईलाई बयानको लागि पुडुचेरी प्रहरीले बोलाएको छ । यी दुई अहिलेसम्म वयानको लागि प्रहरी समक्ष पुगेका छैनन् । दुबैले आफुहरु सो प्रकरणमा दोषी नरहेको दाबी गर्दैै आएका छन् । क्रिप्टोकरेन्सीको आफुहरु केही नभएको पनि उनीहरुको भनाई छ ।

पुडुचेरी साइबर क्राइम प्रहरीले तमिलनाडुको कोइम्बटूरबाट क्रिप्टोकरेन्सी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । यो पक्राउपछि बलिउड अभिनेत्री तमन्ना भाटिया र काजल अग्रवाललाई पनि सोधपुछको लागि बोलाएको छ ।

पुडुचेरीका अशोकनले कोइम्बटूरस्थित एक फर्मले क्रिप्टोमा लगानी योजना मार्फत आफूसहित अन्य १० जनालाई २.४ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । आफूहरूलाई क्रिप्टोमा ठग्नेमा यी दुई अभिनेत्री पनि रहेको अशोकनले उजुरीमा उल्लेख गरेका छन् ।

क्रिप्टोकरेन्सीको प्रचारको लागि कोइम्बटूरस्थित फर्मले तमन्ना भाटियालाई २५ लाख रुपैयाँ र काजल अग्रवाललाई १८ लाख रुपैयाँ दिएको पनि उजुरीमा उल्लेख गरिएको छ । तमन्ना भाटिया सन २०२२ मा सो कम्पनीसँग जोडिएर क्रिप्टोको प्रचार प्रसारमा सहभागी भएको पनि उजुरीमा उल्लेख छ । काजल अग्रवाल पनि महाबलेश्वरमा भएको अर्को कार्यक्रममा क्रिप्टोको प्रचार गर्न पुगेको पनि उजुरीमा उल्लेख छ । भारतमा अहिले पनि क्रिप्टोकरेन्सी अवैध मानिएको छ ।

प्रहरीले बोलाएको खबर आएपछि तमन्ना भाटियाको वकिलले एक विज्ञप्ति जारी गर्दै सो आरोपको खण्डन गरेका छन् । विज्ञप्तिमा यो आरोपलाई झूटो र भ्रामक भनिएको छ । यसको आधार विना तमन्नालाई दोषी जस्तो बनाएर समाचार सम्प्रेरण नगर्न पनि विज्ञिप्तिमा उल्लेख गरिएको छ ।

अभिनेत्री तमन्ना भाटियाले आफ्नो विरुद्ध यस्तो गलत आरोप लगाउनेलाई कानुनी कारबाही गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । तमन्ना भाटियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मलाई थाहा भएको अनुसार क्रिप्टोकरेन्सीमा मेरो संलग्नताको ’boutमा अफवाह फैलाइएको छ । म मिडियालाई त्यस्ता कुनै पनि झूटा, भ्रामक र गलत रिपोर्ट र अफवाहहरू प्रसारण नगर्न अनुरोध गर्न चाहन्छु,’ आफ्नो कानुनी टोलीले यस विषयमा पहिले नै अनुसन्धान गरिरहेको पनि उनले बताएकी छिन् ।