काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह गरेकी छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले परराष्ट्रमन्त्रीसँगको भेटका लागि समय मिलाइ दिन मंगलबार भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।
यससँगै नेपालको तर्फबाट अप्रिल २ देखि ३ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको स्रोतले बताएको छ ।
मन्त्री राणा राइसीना डायलगमा सहभागी हुनका लागि अर्को साता दिल्ली जाने तयारी छ । मार्च १७ देखि १८ मा आयोजना हुने डायलगमा सहभागी हुनुअघि राणाले नियमित स्वास्थ्य जाँच (फलोअप) गराउन दिल्ली जान लागिएको सचिवालयले बताएको छ ।