झलनाथको टिप्पणीः चुच्चे नक्सा नाग पञ्चमीमा टाँस्ने नागजस्तै भयो

झलनाथको टिप्पणीः चुच्चे नक्सा नाग पञ्चमीमा टाँस्ने नागजस्तै भयो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरेको चुच्चे नक्सा नागपञ्चमीमा टाँस्ने नागको नक्साजस्तै भएको टिप्पणी गरेका छन् । 

आज (सोमबार) धनुषामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले चुच्चे नक्सा कार्यान्वयनका लागि कुनै पहल कदमी नलिएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । तत्कालीन सरकारले सम्पूर्ण नेपालीहरुको देशभक्तिपूर्ण भावनालाई प्रतिनिधित्व गरेर चुच्चे नक्सा जारी गरेको हो भने सरकारले कार्यान्वयनको लागि पहल कदमी लिनुपर्ने उनको माग छ ।


‘मैले भनेको कुरा के हो भने नीतिको आधारमा, कार्यक्रमको आधारमा वाम एकता हुन्छ, टिक्छ । तर, स्वार्थको आधारमा हो भने त्यो कुनै पनि कुरा टिक्दैन । त्यो नाग पञ्चमीमा नाग टाँसेजस्तो होईन । चुच्चे नक्सा बनाएकै हो, साँच्चै दिलदेखि, सम्पूर्ण नेपालीहरुको देशभक्तिपूर्ण भावनालाई प्रतिनिधित्व गरेर बनाएको हो भने त्यसलाई कार्यान्वयन गर्नका लागि सरकारले कदम चाल्न सक्नुपर्छ । स्टेप वान, टु, थ्री गरेर । खोई त सरकारले पहल कदमी लिएको ? सरकारले पहल कदमी लिन सकिरहेको छैन । यस कारणले चुच्चे नक्सा नाग पञ्चमीमा टाँस्ने नागको नक्साजस्तै भएको छ,’  उनले भने ।

तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ जेठ ५ गते चुच्चे नक्सा पास गरेको थियो । जेठ ७ गते सार्वजनिक भएको उक्त नयाँ नक्सा प्रतिनिधि सभाले ३१ गते सर्वसम्मत पारित गरेको थियो । सार्वभौम संसद्ले उक्त नक्सा पारित गरेपनि सो भूमि अहिले पनि विवादित छ ।