‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

काठमाडौँ । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।

आज काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए ।

उनले भने,‘म प्रवासमा रहेता पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन । हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं । सोही क्रममा साथी भुवनले गीत सुनाउनु भएपछि यसलाई नेपाल आएर भिडिओ बनाएर सार्वजनिक गर्ने सल्लाह भएको थियो । आज सोही अनुसार हामीले गीत र भिडिओ सार्वजनिक गरेका छौं ।’

उनले गीत निकै कर्णप्रिय रहेको भन्दै भिडिओ पनि सक्दो मेहनत गरेर तयार गरेको बताए । कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।

उनले भने,‘फिरोज र सहारालाई मैले दर्पण छायाँमा नै भेटेको हो । सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ । अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिनलाई स्मरण गरें । गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौं, जस्तो लागेको छ ।’

आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए । अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन् ।

उनले भनिन्,‘पहिलो फिल्म देखि अहिलेसम्म पनि पुष्पसँग काम गर्दा कम्फर्ट फिल हुन्छ । उ अहिले पनि उस्तै लगनशील छ । उसको मेहनतले म जस्तो कलाकारलाई काम गर्ने उर्जा मिल्छ । यो गीत मैले भुवनजी मार्फत सुनेकी थिएँ । मलाइ मन परेको हो, अहिले काम गर्न पाउँदा खुसी लागेको छ ।’

अभिनेत्री कार्कीले अभिनयलाई म्युजिक भिडिओ र चलचित्रमार्फत निरन्तरता दिने बताइन । भिडिओमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङग संयोजन, ज्योति केसीले शृंगार गरेका छन् ।

गीतक सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक नवल नेपाल, गायक सनुप पौडेल, र्यपार हाकिम गुरुङ, प्रोजेक्ट हेद कुवेर डंगोल लगायत उपस्थित थिए ।

गीतको लिंक: https://youtu.be/McWcpqtnxIo?t=44