टिकटकमा भाइरल राधा बादीको मृत्यु, यस्तो छ कारण

टिकटकमा भाइरल राधा बादीको मृत्यु, यस्तो छ कारण

काठमाडौं।  मादल बजाउँदै 'नशा नशामा रगत रगतमा' लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ ।

श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाउन हिँड्ने राधा आइतबार बिहान सुतिरहेको अवस्थामा नै मृत फेला परेको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए । 

चौधरीका अनुसार बादी कालीकोटको पताला गाउँपालिका वडा नं ७ मा सुतिरहेको अवस्थामा नै मृत फेला परेकी हुन् । उनले भने, “उहाँहरू गीत गाउँदै पैसा माग्दै हिँड्नु हुने रहेछ । जहाँ रात पर्‍यो उतै सुत्ने गर्नु हुन्थ्यो । यता दुई तीन दिन लगातार पानी पनि परेको थियो ।” 

घटनास्थलका स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक चौधरीले भने, 'श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।” बादीको शव पोस्टमार्टमका लागि लैजान घटना स्थलमा आफू पुगेको भन्दै उनले त्यसको रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने जानकारी दिए । उनले भने, “श्रीमान श्रीमती नै राति रक्सी खाएर सँगै सुत्नुभएको रहेछ । राति अरू कुनै व्यक्ति आएको जस्तो देखिएको छैन ।'

हालसम्म बादी दम्पतीको परिवारका अन्य सदस्यको खोजी भइरहेको तर कोही पनि पत्ता नलागेको उनले बताए । पछिल्लो हप्तामा टिकटकमा बादी जोडिलाई धेरैले रुचाएका थिए ।