काठमाडौँ । भारतको उत्तराखण्डमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । आइतबार रातिसम्म सेनाले हिमपहिरोमा फसेका ४६ जना कामदारको उद्धार गरेको छ ।
फेब्रुअरी २८ को बिहान चमोली जिल्लाको बद्रीनाथ धाम नजिकैको माना गाउँनजिकै हिमनदी फुट्दा ५४ जना कामदार हिउँमुनि पुरिएका थिए । सेना, आईटीबीपी, वायुसेना, एनडीआरफ र एसडीआरफलाई राहत र उद्धार कार्यका लागि खटाइएको थियो । निरन्तर हिमपातका बीचमा पनि राहत तथा उद्धार कार्य लगभग ६० घण्टासम्म जारी रहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
चमोलीका डीएम सन्दीप तिवारीले भने, ‘जम्मा कामदारहरूको सङ्ख्या ५४ थियो जसमध्ये ४६ जना कामदारलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । बाँकी ८ जनाको मृत्यु भइसकेको छ ।’ भारतीय सेनाले आइतबार अपराह्न ४ः४५ बजे अन्तिम पटक बेपत्ता कामदारको शव फेला परेको बताएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको कुल सङ्ख्या ८ पुगेको हो ।
भारतीय सेनाका अनुसार सैनिक जवानहरूको अथक प्रयासका कारण धेरैको ज्यान बचाइएको छ । ‘खराब मौसम र चुनौतीपूर्ण भूभागमा राहत तथा उद्धार कार्यमा सुरक्षाकर्मी र सैनिकहरूले देखाएको बहादुरी प्रशंसनीय छ,’ सेनाले भनेको छ ।
उद्धार गरिएका ४६ जनाको जोशीमठस्थित सैन्य अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ । ‘उनीहरूको स्वास्थ्य स्थिर छ र उनको स्वास्थ्यलाभमा सुधार भइरहेको छ,’ सेनाका एक अधिकारीले भने, ‘यद्यपि, केही गम्भीर घाइतेलाई उपचारका लागि ऋषिकेश पठाइएको छ ।’