विश्वकप विजेता बुफोन नेपालमा

विश्वकप विजेता बुफोन नेपालमा

काठमाडाैँ । गत आइतबारदेखि जारी ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आइपुगेका छन् ।

विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेसहितले बुफोनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

केपी ओली कपको तेस्रो संस्करण गत आतबारदेखि जारी छ । यसको फाइनल खेल सोमबार दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल बुफोनले दशरथ रंगशालामा हेर्नेछन् ।

‘केपी ओली कप’को अवसरमा इटालियन फुटबलर जियानलुजी बफोन आउने बफोनअघि ब्राजिलका स्टार फुटबलर रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रस्ताव भएको थियो । तर उनीहरू नआउने भएपछि बुफोनलाई ल्याइएको हो ।

बुफोन नेपाल टेक्नेमा विश्व फुटबलकै ठूला नाममध्ये एक भएका छन् । सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी गरेका थिए ।

बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गरेका छन् ।