काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा जारी छ।
विभागको वेबसाइटमा गत २४ घण्टाको अवधिको वर्षालाई हेर्दा देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको देखिन्छ। गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको थियो ।
यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको बरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन्।उनका अनुसार मौसममा आजबाट सुधार भइसकेको छ । त्यसैले आज वर्षा र हिमपातको सम्भावना छैन।
शुक्रबार र शनिबार उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिउँ परेको थियो । हिमपातले केही जिल्लामा यातायात आवागमन नै प्रभावित भएको थियो।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने लुकुम–पातिहाल्ना खण्डमा परेको हिमपातले गाडी चल्न नसक्दा यात्रुहरु अलपत्र परेका थिए। शनिबार दिनभर हिउँ पन्छाएर तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुहरुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।
हिउँ सकिनेबेला भएको हिउँदे झरी र हिमपातका कारण कतिपयलाई यात्रामा कष्ट भए पनि बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन्। लामो समयदेखिको खडेरीले किसानहरु मर्कामा परेका थिए।