काठमाडौँ । सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो ।
उक्त विमान सेनाका उच्च अधिकारीहरू बोकेर सैन्य मिसनमा जाँदै थियो । दुर्घटना बाक्लो बस्तीमा भएको थियो । त्यसैले कम्तिमा पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष आवासीय घरहरूमा खसेको छ, जसले केही घरहरूमा ठूलो क्षति पुर्याएको छ ।
स्थानीय स्वयंसेवी समूहले दुर्घटनापछि अस्पतालमा गम्भीर रूपमा जलेका घाइतेहरू र दश शवहरू ल्याइएको जनाएको छ । सो समूहले बाँचेकाहरूमा गम्भीर चोटहरू रहेको पनि उल्लेख गरेको छ ।
विमान दुर्घटनाको कारण खुलेको छैन । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनाको कारण प्राविधिक गडबडी हुनसक्ने जनाएको छ । प्रत्यक्षदर्शीहरूले विमान निकै होचो उचाइमा उडिरहेको र अचानक भुइँतर्फ खस्दै जाँदा आगो लागेको देखेको बताएका छन् ।