‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

काठमाडौं। पछिल्लो समय बलिउड गायक उदितनारायण झा एकपछि अर्को विवादमा तानिएका छन्। कन्सर्टको क्रममा युवती फ्यानलाई चुम्बन गरेपछि उनी केही साताअघि विवादमा मुछिए।

उनी फेरि विवादमा तानिएका छन्। यसपटक भने, उनकी जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन्। आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप उनले लगाएकी छन्।

यो मुद्दामा शुक्रबार उदितनारायण सुपौल फ्यामिली कोर्टमा उपस्थित भए। जहाँ उनले कुनै पनि सम्झौतामा सहमति गर्न अस्वीकार गरे।

एनबीटीको खबरअनुसार, उदितले अदालतमा पूर्वपत्नी रन्जनाले अहिले पनि आफूबाट पैसा लिइरहेको आरोप लगाए। यसअघि रन्जनाले बिहार महिला आयोगमा पनि उजुरी दर्ता गराएकी थिइन्। दुबैजना यो मुद्दामा सम्झौता गर्न त्यहाँ पुगेका थिए।

विवरणअनुसार, उदित रन्जनालाई प्रतिमहिना १५ हजार रुपैयाँ भरणपोषण खर्चबापत दिन्थे। सन् २०२१ मा यो रकमलाई बढाएर २१ हजार रुपैयाँ बनाइएको थियो। उदितले रन्जनालाई खेती गर्नको लागि एउटा खेत र एक घर दिएका थिए, जसको मूल्य १ करोड भारु भनिएको छ।

बिहार महिला आयोगका अनुसार उदितले रन्जनालाई २५ लाख रुपैयाँको गहना र जमिन दिए। तर, रन्जनाले ती दुवै बेचिदिइन्। रन्जनाले आफ्नो वकिलमार्फत भनेकी छन् कि उनको बिग्रँदै गरेको स्वास्थ्यको कारण उनले बुढेसकालमा आफ्नो श्रीमान उदितनारायणसँगै बस्न चाहन्छिन्।

उदित र रन्जनाले सन् १९८४ मा विवाह गरेका थिए। प्रख्यात भएपछि रन्जनालाई एक्लै छाडेको आरोप पनि उदितमाथि छ। रन्जनालाई पत्नी मान्न अस्वीकार गरेको आरोप पनि उनीमाथि छ। यस क्रममा रन्जना लगातार आफ्नो हकको लागि लड्दै आएकी छन्। सन् २००६ मा रन्जनाले महिला आयोगसँग मद्दत मागेकी थिइन्। सो क्रममा उदितले फ्ल्याट र सामाग्री दिने प्रतिबद्धता त जनाए तर पुरा गरेनन्।