प्रकृति लम्सालको मृत्यु र विकसित घट्नाबारे ओडिसाका मुख्यमन्त्रीसँग मन्त्री राणाको फोनवार्ता

प्रकृति लम्सालको मृत्यु र विकसित घट्नाबारे ओडिसाका मुख्यमन्त्रीसँग मन्त्री राणाको फोनवार्ता

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओसिडास्थित् केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिको विकसित घट्नाक्रमबारे ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोनवार्ता गरेकी छिन्। सो क्रममा आफूले लम्सालको मृत्युको निश्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीको कुरा उठाएको राणाको भनाइ छ।


फोनवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले फेशबुकमा लेखेकी छिन्–

भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज मैले ओडिसाका मुख्यमन्त्री श्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेँ । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरेँ । यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरुको समन्वयका लागि पनि मैले मुख्यमन्त्री श्री माझीसँग आग्रह गरेँ ।

उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।