केबलकार संरचनामा तोडफोड र प्रहरीमाथि आक्रमणपछि पाथीभरा क्षेत्र तनावग्रस्त

केबलकार संरचनामा तोडफोड र प्रहरीमाथि आक्रमणपछि पाथीभरा क्षेत्र तनावग्रस्त

काठमाडौं। ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी १२ जना घाइते भएको र घाइते हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ जना रहेका छन्।
 
सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानिए पनि प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए। प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो। पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो।

सो क्रममा केबलकारविरोधी समूहले ढुंगामुढा गरेको प्रहरी नायब निरीक्षक रवि रावलले बताए। केही छिन तनावग्रस्त बनेको सो क्षेत्र अहिले सामान्यतर्फ फर्किँदैछ ।

आन्दोलनकारीले केबलकार निर्माणस्थलको माथि पाखाबाट अन्धाधुन्ध ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको भिडिओमा देखिन्छ । त्यस्तै उनीहरुले कामदारलाई काम छाडेर नहिडे क्षति भोग्नुपर्ने चेतावनी दिएका थिए ।

निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको प्रहरीले जनाएको छ ।