दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ता

दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ता

काठमाडाैं। दिल्लीकी नयाँ मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता हुने भएकी छन्।


बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो।  यस्तै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन्।


भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो। दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एक-एक गरी कुरा गरेका थिए।

यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो।


मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार (फेब्रुअरी २०) दिउँसो १२:३५ बजे रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुने उल्लेख छ।

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो।