काठमाडौं। नेपाल सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने भएको छ। मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा बुटवलकी प्रकृति लम्सालको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई सूक्ष्म निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल भएको हो।
गएराति अबेरसम्म चलेको मन्त्रिपरिषद बैठकमा ओडिसा घटनाबारे लामो समय छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानको पहल गरिरहेको जानकारी गराएका थिए। र, समस्या समाधानउन्मुख भएको बताएका थिए।
हिजोको क्याबिनेटमा ओडिसाको घटनाबारे लामो छलफल भयो, प्रधानमन्त्रीले चासोपूर्वक लिनुभयो र परराष्ट्रमन्त्रीले पनि यसबारे भएको पहलबारे जानकारी दिनुभयो,’ एक मन्त्रीले भने।
ती मन्त्रीका अनुसार बैठकमा ओडिसा घटनाबारे ठोस निर्णय त भएको छैन तर नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निष्कर्ष निकालिएको थियो। बैठकमा प्रधानमन्त्रीले प्रकृति लम्सालको मृत्युका सम्बन्धमा अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि आवश्यक कदम चाल्न ठीक हुने बताएका थिए।
ओडिसाको भुवनेश्वरस्थित कलेजमा बी-टेक तेस्रो वर्षमा अध्ययन गर्ने रूपन्देही स्थायी घर भएकी लम्साल आइतबार होस्टेलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सो घटना छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुमाथि कुटपिट गर्दै कलेज प्रशासनले निस्कासन गरेपछि स्थिति तनावपूर्ण भएको थियो।
नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरेको थियो।