नेपाली विद्यार्थी मृत्यु प्रकरण: केआईआईटीले तीन जना कर्मचारी निलम्बन गर्दै माग्यो माफी

नेपाली विद्यार्थी मृत्यु प्रकरण: केआईआईटीले तीन जना कर्मचारी निलम्बन गर्दै माग्यो माफी

काठमाडौँ । कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ ।

४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो ।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सिनियर होस्टल स्टाफ र एक इनटरनेशनल रिलेसन अफिसरलाई निलम्बन गरेको जनाएको छ । आफूमाथि दुर्व्यहार भइरहेको विषय प्रकृतिले चार हप्ता अघि नै इन्टरनेशनल रिलेसन अफिसरलाई लिखित जानकारी गराएकी थिइन् । तर, प्रकृतिको निवेदनलाई कलेज प्रशासनले गम्भिरतापूर्वक लिएन ।

यसबाहेक केआईआईटीले नेपाली विद्यार्थीलाई कलेज फर्किन आग्रह गरेको छ । नेपाली विद्यार्थीलाई कलेज फर्किन सहजीकरण गर्नका लागि भनेर केआईआईटीले हटलाइन नम्बर पनि जारी गरेको छ ।

कलेजमा कर्मचारीले नेपाली विद्यार्थीहरुलाई “तिमिहरुको देशको जीडीपीभन्दा बढी रकम कलेजले निःशुल्क खाना खुवाउन खर्च गर्ने गरेको” भन्दै गरेको टिप्पणीप्रति पनि कलेजले माफी मागेको छ ।

आफ्ना कर्मचारीले आक्रोशमा आएर यस्तो बोलेको भन्दै कलेजले माफी मागेको हो । प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीले आन्दोलन गरेपछि त्यहाँ अध्ययनरत हजारौँ नेपाली विद्यार्थीलाई कलेजबाट निष्कासित गरिएको थियो ।