काठमाडौँमा आगामी तीन दिनसम्म घाम नलाग्ने, वर्षाको सम्भावना कति ?

काठमाडौँमा आगामी तीन दिनसम्म घाम नलाग्ने, वर्षाको सम्भावना कति ?

काठमाडौं । देशका अधिकांश स्थानमा मौसम बदली भएको छ । गएको शनिबारयता केही स्थानमा बादल, वर्षा र हिमपात भएको छ । आउँदो बिहीबारसम्म यस्तै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशमा बादल, वर्षा र हिमपातको सम्भावना छ । आज मधेसबाहेक अरू प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

तराईबाहेक देशका सबै पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् । हिमपात हुने उच्च पहाडी वा हिमालीभन्दा तल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेको उनले प्रस्ट पारिन् । बादल भने देशभरि नै लाग्ने उनले जानकारी दिइन् । 

सोमबार काठमाडौंमा पनि दिनभर बदलीको सम्भावना छ । काठमाडौंमा वर्षाको खासै सम्भावना नरहेको उनले बताइन् । यहाँ पनि घामको सम्भावना कमै छ । यो मौसममा भोलि, पर्सि र आउँदो बिहीबारसम्मै खासै सुधारको अवस्था नरहेको उनले बताइन् । तर, प्रणाली धेरै मजबुत नभएकाले उल्लेख्य वर्षा र हिमपात नहुने उनको भनाइ छ ।

सोमबार बिहान ८ः४५ बजे काठमाडौंको कीर्तिपुरको तापक्रम ७.६ डिग्री सेल्सियस थियो। नगरकोटको ५.५ डिग्री सेल्सियस थियो। ललितपुरको खुमलटारको तापक्रम ८ डिग्री सेल्सियस थियो।