सगरमाथा संवादमा भारत र चीनका प्रधानमन्त्रीलाई निम्तो

सगरमाथा संवादमा भारत र चीनका प्रधानमन्त्रीलाई निम्तो

काठमाडौं। जेठ पहिलो साता आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदी र लीलाई निमन्त्रणा गरेका हुन्। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा यसबारे छलफल भएको थियो।

सरकारी उच्च स्रोतका अनुसार दुवै प्रधानमन्त्री काठमाडौं आउने लगभग पक्कापक्की छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार २ जेठदेखि ४ सम्म संवाद तीन दिन चल्ने छ।

पाँच वर्षअघि कोभिड १९ महामारीका कारण रोकिएको सगरमाथा संवाद सरकारले अघि बढाउन लागेको हो। यसअघि चैतका लागि तयारी थालिएको संवाद तयारी पर्याप्त नपुगेका कारण जेठका लागि सारिएको हो, जहाँ मोदी र ली दुवै अतिथिका रुपमा निम्त्याइएका छन्।


जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पर्ने देशहरुको जीवन, संस्कृति सभ्यतासमेतलाई गम्भीर क्षति पारिरहेको सन्दर्भमा भारत र चीनसँग नेपालले प्रभावकारी संवादको पहल लिनुपर्ने ठान्दै सरकारले दुई प्रधानमन्त्रीलाई नै सहभागी गराउन चाहेको हो । भारत र चीन नेपालका छिमेकी मात्र नभई दुई ठूला औद्यागिक शक्तिराष्ट्रसमेत भएकाले जलवायु सन्तुलनमा उनीहरुको योगदान अनिवार्य हुने सरकारी निष्कर्ष छ ।