दिल्ली चुनावमा: भाजपाले बहुमत ल्याउने अधिकांश एग्जिट पोलको प्रक्षेपण

दिल्ली चुनावमा: भाजपाले बहुमत ल्याउने अधिकांश एग्जिट पोलको प्रक्षेपण

काठमाडाैं। दिल्ली विधान सभाको चुनावमा अधिकांश एग्जिट पोलहरूले भारतीय जनता पार्टीको सिट संख्यामा व्यापक वृद्धि हुने देखाएका छन्। ती एग्जिट पोलहरूले लामो समयदेखि सत्तामा रहेको आम आदमी पार्टी पछि परेको र भाजपाले सरकार बनाउने देखाएका छन्।

एग्जिट पोलका प्रक्षेपण सही ठहरिए दुई दशकपछि भाजपा दिल्लीको सत्तामा फर्किने छ। दिल्ली विधान सभाको ७० सिटका लागि बुधबार भएको मतदानमा ६८ प्रतिशत मत खसेको थियो।

चाणक्य स्ट्राटेजिजले भाजपाको पक्षमा ३९–४४ सिट दिएको छ भने आम आदमी पार्टीलाई २५–२८ सिट। उसले कंग्रेसको पक्षमा ३ सिट दिएको छ। म्याटराइजले पनि भाजपालाई ३५-४० सिट दिँदा आम आदमी पार्टीलाई ३२–३७ सिट दिएको छ।

जेभीसीले भाजपालाई ३९–४५ सिट दिँदा आम आदमीका पक्षमा २२–३१ सिट दिएको छ। पिपुल्स पल्सको एग्जिट पोलमा भाजपालाई ५१–६० सिट दिइँदा आम आदमी पार्टीलाई १०–१९ सिट दिइएको छ।

पोल डायरीको एग्जिट पोलमा भाजपालाई ४२–५० सिट दिइएको छ। आम आदमीलाई भने यो पोलले १८–२५ सिट दिएको छ। पिपुल्स इनसाइटले भाजपाको पक्षमा ४०–४४ सिट दिँदा आम आदमी पार्टीको पक्षमा २५–२९ सिट दिइएको छ।

त्यस्तै, पी मार्क एग्जिट पोलले भाजपाले ३९–३९ सिट ल्याउने अनुमान गर्दा आम आदमी पार्टीले २१–३१ सिट प्राप्त गर्ने भविष्यवाणी गरेको छ।