झन् झन् सुमधुर देउवा-ओली सम्बन्ध

झन् झन् सुमधुर देउवा-ओली सम्बन्ध

काठमाडौं। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध अझ सुमधुर र कसिलो बन्दै गएको छ। प्रतिपक्षी दलहरूले सरकार फेरबदलको चर्चा चलाए पनि ठूला दुई दलका शीर्ष नेताबीच विगतमा भन्दा समझदारी बढ्दै गएको गतिविधि र अभिव्यक्तिबाटै पुष्टि हुन्छ। कांग्रेस र एमालेबीच गत असार १७ मा भएको सात बुँदे सहमतिका जगमा ओली नेतृत्वमा सरकार गठन भएको थियो। गठबन्धन निर्माणको सात महिना बित्दा कांग्रेस एमाले सहकार्य अझ लम्बिने संकेत देखिएको छ।

गत माघ १५ गते एमाले संसदीय दललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सरकार २०८४ मंसिरमा मात्रै ढल्ने’ बताएका थिए। कांग्रेस एमाले गठबन्धनमा समस्या नरहेको र सहमतिअनुसार गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने आशय व्यक्त गर्दै ओलीले सरकार ढल्ने कुरा हावादारी भएको टिप्पणी गरेका थिए। ओलीकै अभिव्यक्तिलाई समर्थन गर्नेगरी कांग्रेस सभापति देउवाका पछिल्ला अभिव्यक्तिहरू आइरहेका छन्। पोखरामा जारी कांग्रेसको प्रशिक्षण भेलाका आन्तरिक कार्यक्रममा सभापति देउवाले ओलीसँगको आफ्नो सम्बन्ध निकै सकरात्मक रहेको उल्लेख गरे।

‘ओली र म सँगै जेल बसेका साथी पनि हौँ । धेरै दुःख कष्ट थियो, छुटिन्छ जस्तो लाग्दैनथ्यो । हाम्रो बीचमा प्रतिस्पर्धा पनि छ तर ओलीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन’, देउवाको भनाइ छ । देउवाले एमालेसँगको गठबन्धनमा कुनै समस्या नरहेको भन्दै ओलीप्रति नकरात्मक नहुन कार्यकर्ताहरूलाई सुझाव नै दिनुभयो । राजनीतिक स्थायित्वका लागि एमालेसँग सहकार्य भएकोले सरकार फेरबदलको कुनै सम्भावना नहुने देउवाको भनाइ थियो । ‘अहिले दुई ठूला दल मिलेर सरकार बनेको छ । कसैले चाहँदैमा ढल्ने पनि होइन । त्यसैले राजनीतिक स्थायित्व सुनिश्चित भएको छ’, देउवाले भने।

कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार २०८३ सालको असारसम्म ओली प्रधानमन्त्री रहने छन्। त्यसपश्चात् देउवा प्रधानमन्त्री बनेर २०८४ को निर्वाचन गराउने सहमति कार्यान्वयनको सन्दर्भमा देउवा–ओली सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । ‘म जम्मा दुई वर्षका लागि प्रधानमन्त्री बनेको हुँ । २०८३ असारपछि देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ र उहाँकै नेतृत्वमा देशमा चुनाव हुन्छ’, प्रधानमन्त्री ओलीले पटक–पटक सार्वजनिक मञ्चहरूमा भन्दै आएका छन्। सत्ता हस्तान्तरणको सहमतिमा बाधा नपरोस् भनेर सभापति देउवाले सचेततापूर्व ओली नेतृत्वको सरकारको बचाउसमेत गर्दै आएका छन्। ‘अहिले सरकार बनेको सात महिना भएको छ । सबै काम सातै महिनामा हुने होइन तर यो सरकारले सात महिनामा पनि सकरात्मक सुरुआत गरेको छ’, देउवाको भनाइ छ।

देउवा र ओली दुवै आफ्नो पार्टीभित्र लामो समय प्रतिपक्षी कित्तामा संघर्ष गरेर नेतृत्वमा स्थापित भएका हुन् । दुवै नेताको बलियो राजनीतिक विरासत पनि छ । उमेर र अनुभवजन्य कारणले पनि राजनीतिको उतरार्धमा रहेका दुवै नेताबीचका यिनै समानताले सम्बन्धलाई मजबुद बनाउन योगदान गरेको छ । अझ ओली सरकारमा देउवाले आफ्नै पत्नी डा.आरजु देउवालाई परराष्ट्रमन्त्रीका रूपमा भूमिका दिलाएका छन्। जसले गर्दा प्रधानमन्त्री ओलीसँगको संवादसेतु पनि देउवाका लागि उपयुक्त देखिन्छ।

हालै कांग्रेस संसदीय दलमा सरकारका कतिपय कामको आलोचना भयो भने कतिपय मन्त्रीले मन्त्रालयको काममा प्रधानमन्त्रीले अवरोध गरेको गुनासो पनि गरे। सोही बैठकमा सभापति देउवाले प्रधानमन्त्रीको आलोचना नगर्न र सरकारविरुद्ध अभिव्यक्ति नदिन सांसद एवं मन्त्रीहरूलाई सचेत पनि गराए। ‘संसदीय दलको बैठकमा सभापतिले प्रधानमन्त्री ओलीको सामान्य आलोचना पनि सुन्न चाहनुभएन । ओलीसँगको उहाँको घनिष्ठता निकै बढेको महसुस भयो’, बैठकमा सहभागी एक सांसदले भने।
कांग्रेसभित्र सरकारको काम कारबाहीबारे तीव्र असन्तुष्टि भए पनि सांसदहरूलाई खुला रूपमा नराख्न सचेत नै गराइएको छ । त्यस्तो उपाय प्रधानमन्त्री ओलीले नै देउवालाई सुझाएका थिए। आफ्नो पार्टीभित्रका कुरा बैठक राखेर भित्रै मिलाउन र संसद्मा सरकारविरुद्ध कांग्रेस सांसद बोल्ने स्थिति बन्न नदिन ओलीले देउवाको ध्यानाकर्षण गराएका थिए। ‘प्रधानमन्त्रीकै सल्लाहअनुसार सभापतिले काम गरिरहनु भएको छ । सायद सभापतिको सल्लाह पनि प्रधानमन्त्रीले मान्नुभएको होला’, कांग्रेस सांसदको भनाइ छ।

हिमालय टाइम्स दैनिकबाट