अवैध भारतीय बोकेको अमेरिकी जहाज अमृतसर विमानस्थल अवतरण हुँदै‍

अवैध भारतीय बोकेको अमेरिकी जहाज अमृतसर विमानस्थल अवतरण हुँदै‍

काठमाडौँ । अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ ।

ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलोपटक हो ।सुरक्षा अधिकारीहरूका अनुसार, उनीहरूले अमेरिकाले डिपोर्ट गरेका व्यक्तिहरूको सूची जाँच गरेका छन् । सूचीमा कुनै अपराधी छैनन् ।

अमृतसर पुग्ने केही मानिसहरूलाई प्रहरीको गाडीमा उनीहरूको गाउँ लगिनेछ । बाँकी राज्यका मानिसहरूलाई विमानबाट पठाइनेछ ।मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति दिइएको छैन । तर, विमानस्थलबाहिर डिपोर्ट भएर आउनेहरूसँग कुराकानी गर्न दिइने बताइएको छ । 

पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारबारे सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन् । उनले यसलाई धेरै गम्भीर मुद्दा बताए ।

आफ्नो फेसबुक पेजमा पोस्ट गरिएको सन्देशमा उनले लेखेका छन्, “यी २०५ भारतीयहरू अमृतसर विमानस्थलमा अवतरण गर्नेछन्, जहाँ म आफैँ उनीहरूलाई स्वागत गर्न जानेछु ।”