सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसको छानवीनको माग गर्दै सदन अवरुद्ध गरेको हो ।

बिहीबार बसेको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बास्काटोको विवादास्पद अडियो सार्वजनिक भएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।

७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको भन्दै उनले सरकारको प्रवक्तासमेत रहेको र प्रधानमन्त्री केपी ओली निकटस्थसमेत रहेको मन्त्रीले सीधै कमिसनको कुरा गर्नु आपत्तिजनक भन्दै भर्त्सना गरे ।

उनले अविलम्ब सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग गरे । निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न नसक्ने देवले बताए । लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।