सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह गरेका छन् ।
बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।

कांग्रेसले विज्ञप्तिमा भनेको छ–

‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए ।

तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ । ’